Breaking News

कामु प्रधानन्यायाधीशको प्रमाणपत्रको छानबिन गरिनु गलत: गच्छदार

काठमाण्डौ, १५ साउन । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले वर्तमान कामु प्रधानन्यायाधीशको अहिले प्रमाणपत्रको छानबिन गरिनु गलत भएको टिप्पणी गरेका छन् ।

मंगलबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान कामु प्रधानन्यायाधीश ३० वर्ष न्याय क्षेत्रमा काम गर्दा शैक्षिक प्रमाणपत्र छानबिन नहुनु र अहिले प्रमाणपत्रको छानबिन गरिनु गलत भएको बताएका हुन् । उनले सरकारले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गर्न खोजेको प्रमाणित भएको बताए ।

प्रधानन्यायाधीश नियुक्तिमा संविधानको मर्म र भावना विपरीत गर्न खोजिए कांग्रेसले प्रतिवाद गर्ने उनको चेतावनी थियो । संविधान र कानूनको उलंघन गर्दै संवैधानिक मर्मलाई कुल्चिएर सरकार अघि बढिरहेको उनको आरोप छ ।

एक फरक प्रसंगमा नेता गच्छदारले आगामी महासमिति बैठक अगाडि मधेशी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) र कांग्रेसबीच केन्द्रदेखि वडासम्म नेता र कार्यकर्ताको समायोजन हुने बताए ।

shares