Breaking News

बलात्कार र बालिका हत्याको विरोधमा उत्रिए विद्यार्थी

काठमाण्डौ, १५ साउन । कञ्चनपुरको महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कडाभन्दा कडा कारवाहीको माग गर्दै विद्यालयका विद्यार्थीहरूले मंगलबार काठमाडौंको शान्तिबाटिकामा प्रदर्शन गरेका छन् ।

पन्तको हत्यारालाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारवाहीको माग गर्दै अखिल क्रान्तिकारीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रदर्शनमा उतारेको हो । प्रदर्शनमा सहभागीहरूले पन्तको निर्ममतापूर्वक हत्या भएको भन्दै अपराधीलाई फाँसीको सँजाय दिनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

चारदिनअघि भीमदत्त नगरपालिका–१८, निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । पन्तको आफ्नै घरनजिक उखुबारीमा बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । उक्त घटनाको सर्वत्र विरोध भइरहेको छ ।

दिनप्रतिदिन अपराध बढ्दै गएपनि प्रहरी प्रशासनले ध्यान दिन नसकेको आरोप प्रर्दशनमा सहभागीहरूको छ ।

shares