Breaking News

नेपाल-भारतबीचको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रिय: प्रचण्ड

काठमाण्डौ, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय भएको बताएका छन् ।

एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवर्द्धनका लागि प्रबुद्ध वर्गको भूमिका” विषयक सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले आपसी सम्बन्ध खुल्ला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउन आफूहरूले प्रयत्न गरिरहेको समेत बताए ।

उनले नेपालको स्थिरता, शान्ति र समृद्धि भारतको पनि स्वार्थको विषय भएको तथा छिमेकीको सहयोग बिना नेपालको समृद्धि हासिल गर्न नसक्ने जिकिर गरे । समान सार्वभौमसत्ता र साझा स्वार्थका आधारमा आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने भन्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणले सिर्जना गरेको ताजा विश्वासलाई समेत आधार मानेर सहकार्य र सम्बन्धलाई गाढा बनाउने धारणा राखे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले पछिल्लो समयमा नेपाली र भारतबीच अरुण ३ परियोजना र वीरगञ्जको संयुक्त चेकजाँचका सम्बन्धमा भएको सम्झौताले आपसी आर्थिक सहकार्य अभिवृद्धि हुने बताए । दुवै देशका बुद्धिजीवी सहभागी सम्मेलनमा विभिन्न सत्रमा राजनीतिक र बुद्धिजीवी क्षेत्रका प्रतिनिधिबीच अन्तर्क्रिया हुनेछ ।

shares