Breaking News

जापानले नेपालमा लगानी बढाउने

काठमाण्डौ, १४ साउन । नेपालका लागि नवनियुक्त जापानका राजदुत मासामिची साइगोले परिवर्तित अवस्थामा नेपालको आर्थिक र व्यापारिक अवस्था सुदृढ गर्नलाई जापानले थप लगानीमा जोड दिने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त राजदुत साइगोको स्वागतमा सोमबार काठमाडौंमा आयोजित समसामयिक जापान-नेपाल आर्थिक सम्बन्ध विषयक छलफल कार्यक्रममा बोल्दै उनले नेपालमा थप लगानीमा जोड दिने बताएका हुन् ।

उनले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउन गैरहेकोले यस सम्बन्धी नेपाल सरकारको लक्ष्य पूरा गर्न जापानले पर्यटन क्षेत्रमा टेवा पुग्ने गरी आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न आह्वान गरिने बताए ।

नेपालको आर्थिक विकासको लागि उत्पादन र बजारीकरणमा आफ्नो देशले हाशिल गरेको अनुभव नेपाली उद्योगी व्यवसायीहरूसंग आदान-प्रदान गर्ने वातावरण तयार गर्न आफूले सघाउने राजदूत साइगोले धारणा राखे।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बदलिंदो परिवेशमा दुर्इ पक्षीय व्यापारमा नवीन आयामहरू थप्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरू, सदस्यहरू र जापानी दुतावासका उच्च स्तरीय कुटनीतिक मण्डलको सहभागिता रहेको थियो ।

shares