Breaking News

साउनमा झन्डै २० लाख भक्तजनले डोलेश्वर दर्शन गर्ने

भक्तपुर, १४ साउन । साउनको दोस्रो सोमबार भक्तपुरको सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ ।

विगतका वर्षमा भन्दा यो वर्ष डोलेश्वर मन्दिरमा दर्शन गर्नेको भीड लागेपछि दर्शनार्थीको संख्या बढ्ने डोलेश्वर मन्दिर समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले जानकारी दिए । यो वर्ष साउन महिनामा झन्डै २० लाख दर्शनार्थीहरूले डोलेश्वर मन्दिर दर्शन गर्ने उनले बताए । उनले भने, “हरेक सोमबार भक्तजन दर्शन गर्न आउने चाप बढेको छ । यो महिना मन्दिर परिसरमा विभिन्न धार्मिक गतिविधिहरू समेत सञ्चालन हुनेछन् ।”

सडकको सहजतासँगै डोलेश्वर मन्दिर दर्शन गर्न आउनेको चाप वृद्धि भएको समितिका सचिव एवम् प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले जानकारी दिए । उनले भने, “साउनको महिनामा मन्दिरमा हुने धार्मिक गतिविधिमा उठ्ने चन्दा भेटीले मन्दिरले तयार गरेको गुरुयोजना कार्यान्वयनमा ठूलो सहयोग पुग्ने समितिका पदाधिकारीले अपेक्षा राखेका छन् ।”

“दर्शन गर्न आउने भक्तजनको सुविधालाई मध्येनजर गर्दै मन्दिरका चारै ढोका खुल्ला राखिएको छ भने स्वयंमसेवकहरूको परिचालन पनि ब्यवस्थित गरिएको छ” बस्नेतले भने “भक्तजनलाई सहज दर्शनको सक्दो ब्यवस्थापन गरिरहेका छौं, यो नै हाम्रा लागि खुसीको विषय हो ।”

shares