Breaking News

इट्टा उद्योगहरूमा बालश्रमको प्रयोग अन्त्य गर्ने घोषणा

काठमाण्डौ, १४ साउन । मुलुकभरका इट्टा उद्योगहरूमा बालश्रमको प्रयोग अन्त्य हुने भएको छ ।

सोमबार सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल ईट्टा भट्टा उद्योग महासंघले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै इट्टा उद्योगहरूमा बालश्रमको प्रयोग अन्त्य गर्ने घोषणा गरेका हुन् । मन्त्रीपरिषद्बाट हालै स्वीकृत बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजनाको सफल कार्यान्वयनका लागि इट्टा उद्योगहरूमा बालश्रमको प्रयोग अन्त्य गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

उक्त गुरुयोजनामा विक्रम संवत २०७९ सम्ममा अमर्यादित र शोषणयुक्त बालश्रम अन्त्य गर्ने तथा २०८२ सम्ममा सबै किसिममा बालश्रम निवारण गर्ने लक्ष्य राखिएको छ । नेपाल ईट्टा भट्टा उद्योग महासंघले उक्त लक्ष्यलाई हासिल गर्नका लागि मुलुकभरका ईट्टा उद्योगमा कुनैपनि प्रकारको बालश्रमको प्रयोग गर्न नपाउने प्रतिबद्धता जनाएको छ ।

पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले अझै पनि केही जिम्मेवार क्षेत्रमा बालश्रमको प्रयोग भइरहेको जानकारी आएको भन्दै यस विषयमा सरकार कडा रूपमा प्रस्तुत हुने बताए । उनले बालश्रम मुक्त देश निर्माण गर्न सरोकार पक्ष सबैको सहयोग अनिवार्य रहेको धारणा राखे ।

त्यस्तै नेपाल ईट्टा भट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले ईट्टा उद्योगमा बालश्रम अन्त्य गर्न आफूहरूले निकै अघि निर्देशन दिएपनि कार्यान्वयन नभएको भन्दै अब कुनै पनि उद्योगमा बालश्रम राख्न नपाउने निर्णय गरेको जानकारी दिए ।

हाल मुुलुकभर करिव ११ सय ईट्टा उद्योगहरू सञ्चालनमा छन् भने करिब एकसय १० वटा उद्योगहरू काठमाडौ उपत्यकामा रहेका छन् जसमा अझैपनि सयौं बालबालिकाहरू आवद्ध छन् ।

shares