Breaking News

प्रचण्ड र चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता

काठमाण्डौ, १४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा आएका चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगबारे छलफल भएको जनाइएको छ । सो अवसरमा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरूबीचको एकताले नेपाली जनतामा नयाँ आशा जगाएको बताए । चीनको द्रुत आर्थिक विकास नेपालका लागि सदैव प्रेरणाको स्रोत भएको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले उपमन्त्री वाङ समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको बताउँदै आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गरेको बताए । उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता बारे स्पष्ट पारे । उनले कनेक्टिभिटीको कुरा सबैभन्दा पहिले आफूले उठाएको र अहिले त्यो कार्यान्वयनको चरणमा रहेकाले खुसी लागेको बताए ।

भेटमा उपमन्त्री वाङले अध्यक्ष प्रचण्डका लागि राष्ट्रपति सी जिन फिङको सन्देश सुनाएका थिए । उनले ठूला कम्युनिष्ट पार्टीहरूको एकताबाट नेपालमा राजनीतिक स्थायित्व कायम भएकोमा बधाइ दिए ।

उपमन्त्री वाङलेे नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन हरदम तत्पर रहेको बताए । बेल्ट एण्ड रोड इनिसिएटिभका लागि चौतर्फी वातावरण तयार भएको उनले बताए । वाङले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई चीन भ्रमणको निम्तो दिएका थिए ।

जपाफमा प्रचण्डले उपयुक्त समय मिलाएर चीन भ्रमण गर्ने बताए । उनले आफूहरू चिनियाँ राष्ट्रपति सी जिन फिङलाई नेपालमा स्वागत गर्न चाहेको पनि बताए । यसैगरी, चिनियाँ मन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

वाङले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

shares