Breaking News

राष्ट्रसंघको किसान अधिकारसम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकारसमक्ष माग

काठमाण्डौ, १३ साउन । अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकारसम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकारसमक्ष माग गरेको छ ।

अाइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्रबारे दक्षिण एसियास्तरीय बैठक काठमाण्डौमा सम्पन्न भएको जानकारी दिंदै महासंघले उक्त घोषणापत्र अनुमोदनको माग गरेको हो ।

महासंघले किसान अधिकार घोषणपत्रलाई संयुक्त राष्ट्रसंघबाट पारित गराउनका लागि विश्व समुदायको समेत ध्यानाकर्षण गराएको छ । पत्रकार सम्मेलनमा महासंघका सचिव दाताराम खनालले मानवअधिकार आयोगले किसानहरूको अधिकारसम्बन्धी अगाडि सारेका विषयहरू स्वीकार्दै खाद्य सम्प्रभुताको अधिकारका लागि संघर्ष अगाडि बढाउने बताए ।

उनले कृषि क्षेत्रमा हुने लैंगिक विभेदको विरोध गर्दै बीउवीजन, पानी, जिएमओ र विश्व व्यापार संगठनको हस्तक्षपको विरुद्धमा पनि ऐक्यबद्धता जाहेर गरेको जानकारी पनि दिए ।

साउन ११ र १२ गते दुई दिनसम्म चलेको बैठकमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विभिन्न किसान संघ संगठनका प्रतिनिधिको सहभागिता थियो । उनीहरूले आफ्नो देशको कृषि तथा किसानका बारेमा संक्षिप्त प्रतिवेदन पेश गरेका थिए ।

shares