Breaking News

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ बहुमतले स्वीकृत

काठमाण्डौ, १३ साउन । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि सरकारले दर्ता गराएको संसोधन प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

डाक्टर गोविन्द केसीका माग सम्बोधन हुनेगरी आएको संशोधन प्रस्तावलाई आइतबार बसेको प्रतिनिधिसभाको बैठकको बहुमतले स्वीकृत गरेको हो । चिकित्सा शिक्षा सुधारका लागि अनशन बस्नुभएका डाक्टर गोविन्द केसी र सरकारबीच भएको लिखित सहमति अनुसार सरकारले विधेयकमाथि संसोधन दर्ता गराएको थियो ।

संशोधन विधेयक पारित भएमा अब काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउनेगरी ऐन बन्नेछ । बैठकमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संशोधन विधेयकबारे जानकारी गराउँदै विधेयक सहज रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल पनि भएको थियो । छलफलमा भाग लिंदै सांसदहरूले सबैको भावनालाई समेट्दै उक्त विधेयकलाई अघि बढाउन आग्रह गरेका थिए । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले चिकित्सा शिक्षा विधेयकमा ढिलै भए पनि ठिक ठाउँमा आएको बताए । त्यस्तै सांसद सरिता गिरीले सरकारले गरेको सहमतिलाई कानून बनाएर अघि बढाउने दायित्व सदनको भएको बताए ।

सैद्धान्तिक छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक साउन १६ गते बुधबार बोलाइएको छ ।

shares