Breaking News

सदनमा सभामुखको रुलिङ

काठमाण्डौ, १३ साउन । सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुखको विषयमा सदनभित्र प्रश्न नउठाउन सांसदहरूलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख महराले अदालतमा विचाराधीन विषयमा सदनमा प्रश्न नउठाउन रुलिङ गरेका हुन् । संविधानको धारा १०५ मा कुनै पनि अदालतमा विचाराधीन मुद्धामाथि संसदमा छलफल गर्न नपाइने प्रावधान रहेको छ । यस विषयमा सर्वोच्च अदालतमा अधिवक्ता अच्युतप्रसाद खरेल दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सभामुख महराले सांसदहरूले उठाएका विषय सम्मानित अदालतमा विचाराधीन रहेको र नेपालको संविधानको धारा १०५ मा भएको व्यवस्था अनुसार नेपालको कुनै अदालतमा विचाराधीन रहेका मुद्धाहरूमा न्याय निरुपणका विषयमा असर पर्ने विषय भएका कारण यस सम्बन्धमा छलफल गर्न नमिल्ने व्यहोरा जानकारी गराएका थिए ।

त्यसअघि बैठकमा कांग्रेसकी सांसद लक्ष्मी परियारले संविधान अनुसार नै एकै दलको व्यक्ति दुई पदमा रहन नसक्ने भन्दै पार्टी परित्याग गरेको भए संसद पनि नरहने टिप्पणी गरेकी थिइन् ।

नेपालको संविधानको धारा ९१ को उपधारा २ मा सभामुख र उपसभामुख फरक दल तथा फरक लिंगको हुनु पर्ने व्यवस्था छ । हाल सभामुख र उपसभामुख नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद छन् । तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद महरा सभामुख छन् भने तत्कालिन नेकपा एमालेबाट निर्वा्चित सांसद शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् ।

shares