Breaking News

किशोरी बलात्कारपछि हत्याका दोषीमाथि कारबाही गर्न सांसदहरूको माग

काठमाण्डौ, १३ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति छानबिन गरी दोषीलाई कारवाही गर्न सांसदहरूले माग गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका हुन् । केही दिन पहिले कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेर उखु बारीमा फालेको अवस्थामा शव फेला परेको थियो ।

बैठकमा सांसद डिला संग्रौला , सांसद दिलेन्द्र बडु लगाएतले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकालाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने माग गरेका थिए । बैठकमा नेकपा सांसद दिपक प्रकाश भट्टले बलात्कृतको लाशमाथि राजनीति भइरहेको बताउँदै लाश परिवारजनलाई बुझ्न नदिइएको भन्दै आपत्ति जनाए ।

सांसदहरूले तत्काल दोषीलाई पक्राउ गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन तथा महिला र बालिका बलात्कारको घटना हुन नदिन सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गरेका थिए । सांसदहरूले आवाज उठाएपछि सभामुख कृष्णबहादुर महराले घटनाको विषयमा संसदलाई जानकारी गराउन तथा कारबाही प्रक्रियामा भएको प्रगतिबारे जानकारी गराउन सरकार तथा गृह मन्त्रालयलाई रुलिङ्ग गरेका थिए ।

shares