Breaking News

निजी लगानीमा भ्यु टावर निर्माण

दाङ, १३ साउन । दाङको घोराहीस्थित नमः छु गुम्बामा मनबहादुर पुनका परिवारले ४० लाख रुपैयाँको लागतमा भ्यु–टावर निर्माण गरेका छन् ।

भ्यु–टावरको नाम ‘मनदिल’ राखिएको छ । यस भ्यूटावरलाई जिल्लाको पहिलो भएको पनि दावी गरिएको छ । पुन परिवारले निर्माण गरिदिएको उक्त भ्यु टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ ।

‘सानो भए पनि सामाजिक कार्य गर्ने उद्देश्यले भ्यु–टावर निर्माण गरेका हौं,’ पुनले भने । बुद्ध जयन्तीका अवसरमा सुरुआत गर्ने गरी काम गरिए पनि प्राविधिक समस्याले गर्दा केही ढिला मात्र सम्पन्न भएको उनले बताए । भ्यु–टावरको निर्माण कार्य असार अन्त्यमा सकिए पनि भदौ पहिलो साता उद्घाटन गर्ने गरी तयारी गरिएको छ ।

उक्त भ्यु–टावर बुटवलमा निर्माण गरेर जिल्लामा ल्याइएको थियो । भ्यु–टावरवाट जिल्लाको रमणीय स्थलको अवलोलकन गर्न सकिने बताइएको छ ।

भ्यु–टावर निर्माण भएपछि मन्दिरलाई पनि आर्थिक रूपमा सहयोग मिल्ने व्यवस्थापन समितिका अध्यक्ष सतबहादुर रोकाले बताए । ‘भ्यु–टावरमा चढेर दाङका पर्यटकीय तथा धार्मिक स्थानहरूको अवलोकन गर्ने सकिनेछ’, अध्यक्ष रोकाले भने । भ्यु–टावर निर्माणसँगै नमःछु गुम्बाको पर्यटकीय विकासमा थप टेवा पुग्ने गुम्बा व्यवस्थापन समितिले जनाएको छ । -रासस

shares