Breaking News

आफ्नै नेतृत्वकालमा थपिएको मेडिकल कलेज संख्याले समस्या: कांग्रेस

काठमाण्डौ, ११ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वकालमा दुईबाट दुई दर्जन मेडिकल कलेज स्थापना भएको स्वीकार्दै संख्यासँगै समस्यासमेत बढेको जनाएको छ ।

समसामयिक विषयमा जानकारी दिन शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरिएको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नै कारण समस्या सिर्जना भएको स्वीकार्दै समाधानको पहल पनि आफैँले गरेको जनाए ।

चिकित्सा क्षेत्रमा देखिएको समस्या समाधानका लागि डाक्टर गोविन्द केसीको माग सुनुवाई गर्दै माथेमा कार्यदल कांग्रेसले नै गठन गरेको भन्दै उनले केसीको माग पूरा गर्दै अध्यादेश कांग्रेस सरकारले नै जारी गरेको बताए ।

सरकार र अनशनरत केसीबीचको सहमतिलाई स्वागत गर्दै त्यसको इमान्दार कार्यान्वय हुनुपर्ने उनको भनाइ छ । साथै हिजोको सहमतिकै कारण संसदमा विधेयकप्रतिको विरोध सूचना फिर्ता लिइएको कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए ।

डा. केसीको माग र अनशनका सन्दर्भमा कांग्रेसले संसद्को अवरोध र सडकबाट दिएको दबाबले बहुमतको हठमाथि विवेकको जित निश्चित भएको पार्टी प्रवक्ता शर्माले बताए । शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार र अग्रगतिका लागि कांग्रेस निरन्तर अगाडि बढ्ने जनाउँदै उनले आगामी १५ गते सबै जिल्ला सदरमुकाममा एकदिने विरोध प्रदर्शन कायम राख्ने जनाएको बताए ।

प्रदर्शनमा डाक्टर केसी र सरकारबीचको सहमति कार्यन्वयनमा ढिलाइ नगर्न खबरदारी गर्ने कांग्रेस प्रवक्ता शर्माले बताए । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले प्रदेश र संघीय संसदमा सभामुख र उपसभामुख फरक-फरक पार्टीको हुनु पर्ने विषयलाई सडक र संसदमा लिएर जाने जानकारी दिए । उनले काग्रेसको विधान मस्यौदा समितिको नामावली सार्वजनिक हुने दाबी गरे ।

shares