Breaking News

डा.केसीसँग भएको सहमति कार्यान्वयन हुनेमा नेता रिजालको विश्वास

काठमाण्डौ, ११ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले डाक्टर गोविन्द केसीसंग सरकारले गरेको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै रिजालले डाक्टर केसीसंग भएका सहमति केवल सरकारको मात्र विषय नभएर संसदले नै स्वामित्व ग्रहण गरेकाले सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेका हुन् । उनले सबै मिलेर संसदमा आएको सहमतिको विषयलाई कार्यान्वयन गर्नमा जोड दिनुपर्ने धारणा पनि राखे ।

उनले सहमतिका विषयमा आफूहरूलाई जानकारी नआएकाले शुक्रबारको बैठकमा विरोध जनाएको बताए । सहमतिका विषयलाई मन्त्रीपरिषद्बाट पारित गरी सदनमा जानकारी गराएको भए झन सहज हुने उनको भनाइ छ । उनले सहमतिपछि चिकित्क्षा शिक्षा क्षेत्रको सुधारको काम सुरु भएको बताए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सरकारले पेश गरेको चिकित्सा विधेयकमाथि सैद्धान्तिक रूपमा छलफल हुने र त्यसमा समावेश गर्नुपर्ने विषय क्रमशः राख्दै जाने बताए ।

उनले सहमतिको विषयलाई सरकारले पनि स्वामित्व ग्रहण गर्दै कार्यान्वयनको प्रक्रियामा अघि बढाउने विश्वास व्यक्त गरे ।

shares