Breaking News

चिकित्सा शिक्षा विधेयक संसदमा पेश

काठमाण्डौ, ११ साउन । सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ ।

अघिल्लो संसदमा पेश भएको विधेयकमा सहमति जुट्न नसक्दा निष्क्रिय भएपछि सरकारले फेरि अर्को विधेयक संसदमा पेश गरेको हो । शुुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयक पेश गरेका हुन् ।

शिक्षा मन्त्रालयले असार २२ मा संसदमा दर्ता गराएको विधेयकमा राखिएको व्यवस्थाको विरोध गर्दै डाक्टर गोबिन्द केसी अनशन बसेपछि संसदमा पेश हुन सकेको थिएन । प्रमुख प्रतिपक्ष कांग्रेसले पनि केसीले उठाएको विषय सुनुवाइ नभएसम्म विधेयक पेश गर्न नदिने भन्दै विरोध जनाएका थिए ।

सरकार र केसीबीच बिहीबार सहमति भएसँगै विधेयक पेश गर्न बाटो खुलेको हो । विधेयक पेश गर्दै शिक्षामन्त्री पोखरेलले सबैको मर्म र भावना अनुरुप विधेयक अघि बढ्ने जानकारी दिए । उनले संयन्त्र बनाएर नै चिकित्सा क्षेत्रमा देखिएका समस्या हल हुने विश्वास व्यक्त गरे ।

सरकारले सदनमा दर्ता गरेको विधेयकको विरोधमा सांसद गगन थापा, सरिता गिरी र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । सरकारले केसीसँग सम्झौता गरेको भन्दै थापा र गिरीले विरोधको सूचना फिर्ता लिए ।

सूचना फिर्ता लिने क्रममा सांसद गगन थापाले सबैले सामूहिक विवेकले डाक्टर गोविन्द केसीलाई हार्न नदिएको तर्क गरे । सम्झौतालाई कानूनका रूपमा संसदबाट लैजान कांग्रेस शत् प्रतिशत तयार रहेको उनको भनाइ छ ।

त्यस्तै सुवालले पेश गरेका विरोधको सूचना फिर्ता नलिएपछि निर्णयार्थ पेश गर्दा बहुमतले अस्वीकृत भएको छ । थापा र गिरीले विरोधको सूचना फिर्ता लिएको र सुवालको सूचना अस्वीकृत भएपछि सभामुख कृष्णबहादुर महराले मन्त्री पोखरेललाई विधेयक पेश गर्न अनुमति दिएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक आइतबार ११ बजे बोलाइएको छ ।

shares