Breaking News

बस दुर्घटना अपडेट: ७ जनाको मृत्यु, २१ घाइते

चितवन, ११ साउन । काठमाडाैंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदी किनारमा खस्दा ७ जनाको मृत्यु भएको छ भने २१ जना यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा २ महिला र ४ पुरुष र एक बालक रहेको उद्धारमा खटिएका चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

तनहुँ भानु नगरपालिका-५ का वर्ष २७ का सुनिल श्रेष्ठ, तनहुँ केशवटारका वर्ष ४० का बाबुराम तिवारी र काठमाडाैंका ३० वर्षका रविन गुरुङको  सनाखत भएको हो ।

ना६ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना५ख ७४०९ नम्बरको ट्रकसँग इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा मध्यान्ह १२ बजे ठोक्किएपछि करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

प्रहरीले २१ जना घाइतेको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।

घाइतेहरू सबैको उद्दार भइसकेको पनि प्रहरीले बताएको छ । घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका थिए ।

अहिले ट्रक चालक भने जोगीमारा प्रहरीको सम्पर्कमा पुगेको बताइएको छ । घटनास्थल मुग्लिनबाट अन्दाजी १५ किलोमिटर काठमाडौतर्फ पर्छ । बसमा ३०/३२ जना यात्रु रहेको अनुमान छ ।

सम्बन्धित समाचार-

त्रिशुलीमा यात्रुबाहक बस खस्यो

shares