Breaking News

पुराना घटनाको विवादमा नजान सांसदहरूलाई शिक्षामन्त्रीको आग्रह

काठमाण्डौ, ११ साउन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डाक्टर गोविन्द केसीसंग सहमति भइसकेको अवस्थामा पुराना कुरामा नअल्झिन आग्रह गरेका छन् ।

डाक्टर केसीको अनशन र सहमतिको सम्बन्धमा सरकारको तर्फबाट शुक्रबार प्रतिनिधिसभा बैठकमा जानकारी गराउँदै उनले पुराना घटनाको विवादमा अब नजान सांसदहरूलाई आग्रह गरेका हुन् । प्रतिष्ठानमा सरकारी पक्ष जान खोज्दा नदिंदा समस्या भएको भन्दै उनले त्यहाँ गोली चलेको नभर्इ प्रहरीमाथि सिसा प्रहार गरिएको बताए ।

हिजो भएको सहमति मन्त्रीपरिषदमा पेश हुने भन्दै उनले विधेयक यही संसदबाट पेश भई पारित हुने भएकाले सहयोगको आग्रह गरे । शिक्षामन्त्रीले डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि डाक्टर केसीलाई काठमाडौं ल्याइएको बताए ।

त्यस्तै उनले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राको सम्बन्धमा बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले दिएको अभिव्यक्ति सम्बन्धमा मन्त्रिपरिषदमा छलफल गरेर मात्र जवाफ दिने बताए ।

त्यसअघि बैठकमा कांग्रेस सांसद पुष्पा भुसाल, डाक्टर डिला संग्रौला, लक्ष्मी परियार लगायतले प्रसाइले महिलाको चरित्रमाथि धावा बोलेको भन्दै प्रसाईमाथि कारबाहीको माग गर्दै सरकारको धारणा माग गरेका थिए ।

प्रसाइँले केही दिन पहिला बंगलादेशमा अध्यनरत छात्रामाथि आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

shares