Breaking News

केसी र सरकारबीच भएको सम्झौता जनताको जित: कांग्रेस

काठमाण्डौ, ११ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डाक्टर गोविन्द केसी र सरकारबीच भएको सम्झौता जनताको जित भएको दाबी गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेसको तर्फबाट बोल्दै सांसद डाक्टर मिनेन्द्र रिजालले डाक्टर केसीसँगको सम्झौता जनता र लोकतन्त्रको जित भएको बताए । सम्झौताले सरकारले शिक्षामा जबर्जस्ती गर्न सक्दैन भन्ने प्रमाणित गरेको उनको भनाइ छ ।

उनले लोकमतको बाटोमा हिंड्न सरकार बाध्य भएको भन्दै अब सरकारलाई अगाडि बढ्ने आधार बनेको जिकिर गरे । पहिल्यै चिकित्सा शिक्षा अध्यादेश अनुसार विधेयक ल्याउन नमानेर सरकारले दम्भ देखाएपनि अन्ततः सरकारको अहंकार अन्त्य भएको उनले बताए । स्वास्थ्य, शिक्षामा सरकारले जनताको उत्तरदायीत्व लिनुपर्ने उनको भनाइ छ ।

सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक मान्यता विपरीत सत्तापक्ष गएको भन्दै उनले आलोचना गरे । उक्त सभामुख र उपसभामुख एउटै दलको हुन नहुने विषयको प्रतिवाद गर्दै नेकपाका सांसद कृष्णभक्त पोखरेलले अदालतमा विचाराधिन विषयमा संसदमा बोल्न नहुने तर्क गरेका थिए ।

त्यस्तै बैठकमा कांग्रेस सांसदहरूले शिक्षामन्त्रीले संसदमा टेबुल गरेको डाक्टर केसीसँगको सहमतिपत्र आफ्नो हातमा नआइपुगेको भन्दै कांग्रेस सांसदहरू उभिएपछि बैठक १० मिनेट स्थगित भएको थियो । उक्त सहमति छिटै सांसदहरूलाई उपलव्ध गराउने जानकारी संसद सचिवालयबाट आएपछि बैठक १० मिनेटपछि सूचारु भएको थियो ।

shares