Breaking News

सरकारका काम कारबाहीबारे संसदमा डटेर कुरा राख्न पार्टीका सांसद्लाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ, ११ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीबारे संसदमा डटेर कुरा राख्न पार्टीका सांसद्लाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा उनले आगामी असोज ३ गतेभित्र संविधानबमोजिम नयाँ कानून बनाइसक्नुपर्ने भएकाले सदनको काम सुचारु हुने वातावरण सिर्जना गर्न पनि आग्रह गरे । शीर्ष नेताहरूले सरकारका नीति तथा कार्यक्रम र बजेटका बारेमा खुलेर कुरा राख्नुपर्ने र यसले संसद् र जनतामा राम्रो सन्देश प्रवाह हुने उनको भनाइ छ ।

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र सरकारविरुद्ध भइरहेका षड्यन्त्र चिर्न आग्रह गर्दै सदनको गतिरोधको स्थितिले लोकतान्त्रिक प्रक्रियालाई नै अवरोध पुर्‍याउने धारणा राखेका थिए । बैठकमा चिकित्सक डा. गोविन्द केसी र सरकारबीच भएको नौ बुँदे सहमतिबारे जानकारी गराइएको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

बैठकमा उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका थिए । नेम्वाङले सरकारले प्रस्तुत गरेको विधेयकमा संशोधनको प्रक्रियाबाट टुंगो लगाउने समझदारी विपरीत कांग्रेसले सदन अवरोध गरेकामा असन्तुष्टि व्यक्त गरेका थिए ।

shares