Breaking News

अाज राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने

काठमाण्डौ, ११ साउन । शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण शुक्रबार लाग्दैछ । मध्यरात १२:०९ मा सुरु हुने ग्रहण शनिबार बिहान ४:०४ मिनेटसम्म देख्न सकिने खगोलशास्त्रीहरूले बताउँछन् । यसलार्इ नेपालबाट पनि हेर्न सकिन्छ ।

यस्तो अर्को ग्रहण आउन १०५ वर्ष कुर्नुपर्ने वरिष्ठ खगोलविद् तथा वाल्मीकि विद्यापीठका उपप्राध्यापक जयन्त आचार्यले बताए ।सामान्यतः बढीमा तीन घण्टासम्म ग्रहण लाग्ने गर्दछ तर अाजको ग्रहण ४ घण्टा रहन्छ । पृथ्वीको छायाँले पूरै चन्द्रमा छेकिने भएकाले यसलाई खग्रास चन्द्रग्रहण भनिएको हो ।

क्यानडा तथा अलास्काबाहेक सबै देशमा यो ग्रहण देखिने अाचार्यले बताउँछन् । यो ग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामेरा वा अरु कुनै सामग्रीमार्फत हेर्दा अाँखालाई असर नगर्ने उनको भनाइ छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले शुक्रबार राति साढे ११ देखि साढे चार बजेसम्म टेलिस्कोपबाट ग्रहण हेर्ने व्यवस्था मिलाएको छ ।

ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने भन्ने जस्ता मान्यताहरु छन् । खग्रास ग्रहण भएकाले स्पर्श हुनुभन्दा नौ घण्टाअघि देखि बाल, वृद्ध र रोगी बाहेकलाई भोजन निषेध गरिएको पञ्चा‌ंगहरूले जनाएका छन् ।

यी राशी भएकाहरूका लागि ग्रहणको यस्तो छ फल-

फलित ज्योतिषमा विश्वास राख्नेहरूहरूका लागि  पञ्चा‌ंगहरूले शुक्रबार देखिने खग्रास चन्द्रग्रहणकाे फल बताएका छन्।

मेष, सिंह, वृश्चिक तथा मीन राशि भएका मानिसले हेर्न सक्नेछन् । वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर र कुम्भ राशिकाले हेर्न नहुने नेपाल पञ्चा‌ग निर्णायक समितिबाट स्वीकृति पाएका पञ्चा‌ंगहरूले उल्लेख गरेका छन् ।

shares