Breaking News

अबदेखि मन्त्रिपरिषदको बैठकमा कागजको प्रयोग नहुने

काठमाण्डौ, १० साउन । मन्त्रिपरिषद बैठक बिहीबारदेखि कागजरहित हुने भएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक (Cabinet Automation System) बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पेपरलेस अवधारणलार्इ व्यवहारमा लागू गर्न बैठक स्वचालित प्रणालीबाट सुरु गरिएको हो ।

बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा ल्यापटप प्रयोग गरेका छन् । बैठकमा प्रधानमन्त्री ‌ओलीले सबै मन्त्रीहरूलार्इ ‘कि कम्प्यूटर चलाउन सिक्नू कि राजीनामा दिनू’ भन्दै निर्देशन दिएका थिए ।

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीहरूलार्इ अत्याधुनिक र एकै क्षमताको ल्यापटप उपलब्ध गराइसकेको छ । बिहीबारको बैठकमा मन्त्रीहरूलार्इ फरकफरक युजरनेम र पासवर्ड उपलब्ध गराएपछि उनीहरूले मन्त्रिपरिषदमा पेस हुने एजेण्डा सिस्टममा जोड्नेछन् ।

अब मन्त्रीहरूले जुनसुकै ठाउँबाट पनि मन्त्रिपरिषदमा पेस गरेका प्रस्तावहरू सजिले पढ्न सक्नेछन् । यसअघि मन्त्रिपरिषद्‍मा पेस हुने प्रस्ताव फाइल गरेर पेस गरिने हुनाले मन्त्रीहरूले प्रस्तावहरू राम्रोसँग अध्ययन गर्न समेत नपाउने समस्या थियो।

shares