Breaking News

प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सकियो, निर्णय भोलि हुने

काठमाण्डौ, १० साउन । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशका लागि सिफारिस कामु प्रधानन्यायाधीश दीपकराज जोशीका बारेमा शुक्रबार निर्णय गर्ने भएको छ ।

बिहीबार भएको सुनुवाइका क्रममा आएका विषयमाथि थप छलफल गर्नुपर्ने, कतिपय विषयवस्तु स्पष्ट हुनुपर्ने भएकाले शुक्रबार निर्णयमा पुगिने समिति सभापति लक्ष्मणलाल कर्णले बताए। जोशीले दिएको जवाफका आधारमा निष्कर्षमा पुग्न कठिन हुने भएकाले शुक्रबार थप छलफल गरी निष्कर्षमा पुगिने उनले जानकारी दिए ।

सिंहदरबारमा बिहीबार भएको जोशीको संसदीय सुनुवाइमा क्रममा सांसदहरूले सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्न आदेश भएको, एनसेल कर प्रकरणमा राजस्व नोक्सानी हुनेगरी अन्तरिम आदेश आएको, अदालतमा विचौलियाको बिगबिगी बढेको भन्दै प्रश्न उठाएका थिए । त्यस्तै उनीहरूले अदालतमा हुने भ्रष्टाचार, शैक्षिक प्रमाणपत्रका विषयमा सञ्चारमाध्यममा आएका विषयका बारेमा पनि जोशीसंग प्रश्न गरेका थिए ।

जवाफमा कामु प्रधानन्यायाधीश जोशीले आफू निष्पक्ष र तटस्थ न्याय सम्पादनका लागि प्रतिबद्ध रहेको भन्दै अदालतमा विचाराधिन विषयमा भने प्रतिक्रिया नदिने बताए । उनले न्यायपालिकामा भ्रष्टाचार भेट्टाए कारबाही हुने बताए । त्यस्तै उनले आफ्नो प्रमाणपत्रबारे उठेको प्रश्नमा समितिका सभापति लक्ष्मणलाल कर्णलाई कागजात बुझाउँदै सञ्चारमाध्यममा आएका विषयवस्तुहरू सही नभएको प्रतिक्रिया दिए ।

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेको सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीविरूद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी परेका थिए । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

shares