Breaking News

पाकिस्तान आमनिर्वाचन: पीटीआईको अग्रतासँगै इमरान खान प्रधानमन्त्री बन्ने संभावना बलियो हुँदै

इस्लामावाद, १० साउन । पाकिस्तानमा आमनिर्वाचनपछि जारी मतगणनामा पीटीआईले अग्रता लिएपछि पूर्वक्रिकेट खेलाडी इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्ने संभावना बलियो हुँदै गएको छ ।

खसेको मतमध्ये अाधा मत गणना सकिंदासम्म खान नेतृत्वको पार्टी पीटीआईले अग्रता लिइरहेको छ । ४७ प्रतिशत मतगणना सकिंदा कुल राष्ट्रिय सभाका २७२ सिटमध्ये ११३ स्थानमा पीटीआईले अग्रता लिइरहेको छ । उता औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेका छन् । बहुमतको लागि १३७ सिट अावश्यक पर्दछ ।

स्पष्ट बहुमत अाउने संभावना कम देखिएकोले गठबन्धनको सरकार बन्न सक्ने अांकलन गरिएको छ । पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल-एनले चुनावमा अनियमितता भएको आरोप लगाएपनि सरकारी अधिकारीहरूले सो अारोपको खण्डन गरेका छन् ।

अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका खानले अाफ्नो नेतृत्वमा सन् १९९२ को पाकिस्तानलार्इ क्रिकेट विश्वकप जिताएका थिए । सन् १९९६ मा राजनीतिमा प्रवेश गरेका उनलार्इ राजनीतिमा यो स्थानसम्म अाइपुग्न निकै संघर्ष गर्नुपर्यो । ६५ वर्षीय इमरान खानलार्इ जिताउन पाकिस्तानको शक्तिशाली सेना आफैँ लागिपरेको र व्यापक अनियमितता भएको आरोप विरोधीहरूले लगाएका छन् ।

shares