Breaking News

सक्रिय इमानका साथ काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रिय इमानका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

६ महिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई बिहीबार ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निष्क्रिय इमानदारिताले जनताकोे सेवाका लागि कुनै लाभ नहुने भन्दै सक्रिय इमानका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभिभारा अहिलेको प्राथमिकता रहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई सफल बनाउन सबै एक भएर लाग्नुपर्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले कर्मचारीले जहाँ पुगेपनि उज्यालो ज्योतिका रूपमा रही नवप्रवर्तनकारी काम गरेर मुलुकको सार्वभौमिकता, भूराजनीति, जात, धर्म, संस्कृति र चाडहरूको महत्व बुझेर मुलुकलाई सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

नेपालमा फलाम, तामा, युरोनियम र पेट्रोलियम पदार्थको खानी भएपनि नेपाल गरिब हुनुपरेको भन्दै त्यसको खोजी गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाल, नेपाली, जनताका सेवकको प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान पनि गरे ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सधैँ सफा र स्वच्छ व्यक्तिका रूपमा रहन नयाँ अधिकृतलाई निर्देशन दिए । मन्त्री पण्डितले सरकारले तोकेको र पठाएको स्थानमा कर्मचारी जानुपर्ने भन्दै पायक पर्ने स्थानमा कर्मचारीको सरुवा नहुने स्पष्ट पारे ।

गत २०७४ पुस १७ देखि सञ्चालित उक्त प्रशिक्षणमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा नवनियुक्त २ सय १७ अधिकृत सहभागी थिए । प्रशिक्षणमा सर्वोत्कृष्ट भएका देवचन्द्र गर्तौलालाई कार्यकारी निर्देशक स्वर्ण पदकबाट सम्मान गरिएको थियो ।

shares