Breaking News

१ किलो सुन लुटिएको नाटक गर्ने समूह पक्राउ

काठमाण्डौ, १० साउन । एक किलो सुन हात पार्न प्रहरीलाई सुन लुटिएको खबर गरेर नाटक गर्ने एक समूह पक्राउ परेको छ ।

पक्राउ पर्नेमा दाङका खड्गबहादुर सुनुवारसहित उनका चारजना सहयोगी रहेका छन् । उनीहरूले बुधबार साँझ सुन व्यवसायी समिति, दाङको एक किलो सुन हात पार्न ‘गोंगबुको ‘राप्ती पाहुना घर’ गेस्‍टहाउसबाट १ किलो सुन, नगद २ लाख लुटिएको सूचना प्रहरीलाई दिएका थिए ।

सूचना पाएलगत्तै, महागनरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलको टोली घटनास्थल पुगेको थियो । सुनुवार सुन व्यवसायी समिति, दाङको १ किलो सुन काठमाडौंबाट दाङ लैजाने जिम्मेवारी पाएका व्यक्ति हुन् । उनैले प्रहरीलार्इ सुन लुटिएको खबर गरेका थिए ।

‘घटनास्थल पुगी शंकास्पद लागेर अनुसन्धान गर्दा लुटपाट भएको भनिएको होटलको कोठा नं. २०२ मा सुनुवारबाहेक अन्य कोही प्रवेश गरेको नदेखिएको र सोधपुछ गर्दासमेत लुटिएको जस्तो नलागेपछि अनुसन्धान गरेका हौँ,’ पोखरेलले भने।

सुनुवारसहित उनका ज्वाइँ बचन सुनुवार, भाइ चन्द्रप्रकाश, होटलका सञ्चालक लगायतसँग गरिएको प्रारम्भिक सोधपुछमै उनीहरूको कुरा बाझिएपछि एसएसपी पोखरेलले सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, महारागञ्जलाई निर्देशन दिए ।

लुटियो भनिएको सुन बसपार्कस्थित बिजी मलमा लुकाइएको अवस्थामा बरामद गरिएको थियो । पक्राउ परेकाहरूलाई ठगी वा सार्वजनिक मुद्दा चलाउने तयारी गरिएको पोखरेलले जानकारी दिए ।

shares