Breaking News

फिफाद्वारा रुस विश्वकपको उत्कृष्ट गोलको घोषणा

काठमाण्डौ, १० साउन । फिफाले हालै रुसमा सम्पन्न २१अौं संस्करणको विश्वकपमा भएको सर्वाधिक उत्कृष्ट गोलको घोषणा गरेको छ ।

फिफाले फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्डले अर्जेन्टिनाविरुद्ध गरेको गोललार्इ रुस विश्वकप फुटबलकै उत्कृष्ट गोल घोषणा गरेको हो । पाभार्डको गोल विश्वकपकै उत्कृष्ट गोल घोषित हुँदा कोलम्बियाका जुवान क्विनटेरो र क्रोएसियाका लुका मोड्रिचको गोल क्रमशः दोस्रो र तेस्रो बन्न सफल भएको छ ।

अनलाइन भोटिङको आधारमा फ्रान्सका पाभार्डको गोल उत्कृष्ट ठहरिएको हो । रुस विश्वकपको ६४ खेलमा कुल १६९ गोल भएको थियो । फिफाले उत्कृष्ट गोलको लागि १२ गोललाई अनलाइन भोटिङको लागि राखेको थियो । जसमा अर्जेन्टिनाविरुद्ध पाभर्डले गरेको गोलले सबैभन्दा धेरै भोट प्राप्त गरी उत्कृष्ट ठहरियो ।

डिबक्सबाहिरबाट पाभर्डले गरेको लामो प्रहार आकर्षक गोलमा परिणत भएको थियो । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएको थियो । रुस विश्वकपमा आफ्नो गोल उत्कृष्ट चुनिएपछि पाभार्डले स्ट्राइकरको सल्लाहअनुसार प्रहार गर्दा गोल भएको बताए ।

विश्वकप विजेता २२ वर्षे पाभार्डले फिफासँग भने, ‘बल उर्फंदै मतर्फ आयो। मैले योबारे खासै केही सोचिनँ, तर जुन दिशाबाट बल आइरहेको मैले त्यहि दिशामा हिर्काउन ट्राई गरेँ। जुन मलाई सधैँ स्ट्राइकरले भन्ने गर्थे। त्यसपछि मैले केही सोच्न सकिनँ। जब बलले दिशा लियो मलाई खुसी लाग्यो।’ पाभार्ड सन् २००६ पछि विश्वकपमा उत्कृष्ट गोल गर्ने पहिलो युरोपियन खेलाडीसमेत भएका छन् ।

त्यसैगरी क्विनटेरोले जापानविरुद्ध फ्रिकिकमा गरेको गोल दोस्रो भयो भने मोड्रिचले अर्जेन्टिनाविरुद्ध लामो दूरीबाट गरेको गोल तेस्रो स्थान हासिल गर्यो । रुस विश्वकपको उत्कृष्ट गोलको सूचीमा स्पेनका नाचो, जर्मनीका टोनी क्रुस, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका एन्जल डी मारिया लगायतका खेलाडीको गोल मनोनयनमा परेको थियो । -एजेन्सी

shares