Breaking News

मध्यरातमै भयो प्रधानमन्त्री र डा. केसी पक्षबीच वार्ता, सरकार सकारात्मक

काठमाण्डौ, १० साउन । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता बुधबार साँझ असफल भएको भनिएपनि मध्यरातमा पुनः भएको वार्ता सकारात्मक भएको दाबी गरिएको छ ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले डा. केसी पक्षधर वार्ता टोलीसँग बिहान २ बजेसम्म छलफल गरेका हुन् । करिब ३ घन्टा चलेको वार्तामा प्रधानमन्त्रीले केसीको जीवनरक्षा पहिलो प्राथमिकता रहेको भन्दै उनका मागप्रति सकारात्मक प्रतिक्रिया दिएको बुझिएको छ ।

केसीका तर्फबाट प्रधानमन्त्री ओलीसँग वार्ता गर्न राति ११:३० बजे वार्ता टोलीका डा. अभिषेक सिंह र अधिवक्ता सुरेन्द्र भण्डारी प्रधानमन्त्री निबास बालुवाटार पुगेका थिए । वार्ताको पहल प्रधानमन्त्रीका निजी चिकित्सक समेत रहेकी डा. दिव्यासिंह शाहले गरेकी हुन् ।

बुधबार मध्यरातको वार्तामा चिकित्सा शिक्षा विधेयकको अन्तरवस्तुमा बुँदागत छलफल भएको बुझिएको छ । विधेयक संसदको प्रक्रियामा गइसकेकाले फिर्ता नहुने भएपनि त्यसमा डा. केसीले उठाएका विषय समेटेर संशोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक देखिएको बताइएको छ ।

स्रोतका अनुसार डा. केसीका माग समेटेर विधेयकमा सहमति जुटाउने जिम्मा डा. केदारभक्त माथेमा, मेडिकल काउन्सिलका डा. धर्मकान्त बास्कोटा र निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई दिइएको छ । तीन जनाले गरेको सहमतिलाई विधेयकमा मिलाउने भन्ने जिम्मा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई दिइएको छ ।

विधेयकको अन्तरवस्तुमा सहमति जुटेमा प्रधानमन्त्रीका तर्फबाट नेम्बाङ सम्भवतः आजै डा. केसीलाई भेट्ने छन् र लिखित सहमति गरेर २६ दिन लामो उनको अनशन तोडिनेछ ।

shares