Breaking News

सरकार अधिनायकवादतर्फ उन्मुख भएको राप्रपा प्रजातान्त्रिकको आरोप

काठमाण्डौ, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपा प्रजातान्त्रिकले सरकारलाई सच्चिन आग्रह गरेको छ । पत्रकार सम्मेलनमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका गोविन्द केसीसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरे ।

केसीलाई जुम्लाबाट काठमाण्डौ ल्याउने बहानामा अस्पताल क्षेत्रमा गरिएको दमनप्रति राणाले आपत्ति प्रकट गरे । आर्थिक वर्ष २०७५–७६ को सुरुदेखि नै विभिन्न शीर्षकमा कर र राजश्व बढाइएको प्रति राप्रपाले आपत्ति जनाएको छ । संविधानले परिकल्पना गरेको राज्य व्यवस्थातर्फ सरकार उन्मुख हुनुको बदला अत्याचारपूर्वक तवरले तीनै तहको सरकारबाट करको सैद्धान्तिक अवधारणा विपरीत करको दर र दायरा वृद्धि गरिएको राणाले बताए ।

इन्टरनेटमा १३ प्रतिशत र जन्म दर्ता र मृत्यु दर्ता शुल्क १० रुपैयाँबाट १ हजार रुपैयाँ बनाइएको प्रति राप्रपाले आपत्ति जनाएको छ । मोबाइल, टेलिफोन, इन्रनेट, खानेपानी, इन्धन लगायतका क्षेत्रमा करको दर र दायरा बढाएर सरकारले जनताको कर तिर्ने क्षमता नबुझेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाको आरोप छ ।

चुलोमा आगो बाल्नै कठिन हुने गरी बजार भाउ बढेको तर सरकारले नियन्त्रण नगरेको भन्दै राप्रपाले ध्यानाकर्षण गराएको छ । त्यसैगरी पेट्रोलियम पदार्थमाप्रति लिटर २५ पैसा अतिरिक्त शूल्क असुल्ने निर्णयप्रति पनि राप्रपाले आपत्ति जनाएको छ । कर वृद्धिका कदमहरू तत्काल फिर्ता लिंदै जनतालाई महङ्गीको मारबाट बचाउन रातहतका कार्यक्रम ल्याउन राप्रपाले सरकारलाई आग्रह गरेको छ । अन्यथा यसबाट उत्पन्न हुने भयाबह दुष्परिणामको जिम्मेवार सरकार स्वयम् हुने चेतावनी राप्रपाले दिएको छ ।

shares