Breaking News

सिरियाको युद्धग्रस्त क्षेत्रमा फसेका ४२२ स्वयंसेवकको उद्धार

काठमाण्डौ, ६ साउन । इजरायलले सिरियाको युद्धग्रस्त दक्षिण-पश्चिम क्षेत्रबाट ह्वाइट हेल्मेट्स नामक नागरिक प्रतिरक्षा समूहका सदस्यहरूको उद्धार गरेको बताएको छ । ह्वाइट हेल्मेट्स सिरियाली युद्धभूमिबाट सर्वसाधारणको उद्धारको लागि सक्रिय स्वयंसेवक दस्ता हो ।

करिब ४२२ स्वयंसेवक एवं उनीहरूका परिवारलार्इ उद्धार गरी इजरायल-नियन्त्रित क्षेत्र गोलन हाइट्स हुँदै जोर्डन पुर्याइएको थियो । ती ह्वाइट हेल्मेट्सका सदस्यहरू गोलन हाइट्सको सीमाक्षेत्र नजिक सिरियाको दक्षिण-पश्चिम क्षेत्रमा सिरियाली सैन्य अाक्रमणमा परी थुनिएका थिए ।

इजरायलसँग सहयोगका लागि अाग्रह गर्दै अाइरहेको संयुक्त अधिराज्यको पहलमा इजरायली सेनाको मद्दतले उक्त कार्य अघि बढाइएको र उद्धार गरिएका उनीहरूको पुनर्बासको प्रबन्ध बेलायतले गर्ने जनाइएको छ ।

योजना अनुसार ८०० ह्वाइट हेल्मेट्स सदस्यहरूको उद्धार गर्ने भनिएपनि जम्मा ४२२ जनाको मात्र सकुशल उद्धार गरिएको छ । सिरियाको उक्त युद्धग्रस्त क्षेत्रमा इस्लामिक स्टेट (अार्इएस)का लडाकुहरूको घेराबन्दीमा परेकाले बाँकीको उद्धार सफल हुने वा नहुने भन्ने बारे थप सन्त्राश फैलिएको छ ।

shares