Breaking News

यातायात क्षेत्रमा सिण्डिकेट कायम रहेको भन्ने आरोप झुट: मन्त्री महासेठ

काठमाण्डौ, ६ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अहिले पनि यातायात क्षेत्रमा सिण्डिकेट कायम रहेको भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले अहिले पनि यातायात क्षेत्रमा सिण्डिकेट छ भन्ने हल्लामा कुनै सत्यता नरहेको भन्दै सिण्डिकेट चलाउने संघ तथा संस्थाहरूको नविकरण यो साउन १ गतेदेखि बन्द गरिएको जानकारी दिए ।

मन्त्री महासेठले कम्पनी ऐन अन्तर्गत ल्याउनको लागि आफूहरूले निर्देशिका जारी गरिसकेको बताउँदै पुरानो निर्देशिकालाई सच्याएर बढीमा पुस मसान्तसम्म अनिवार्य रूपमा आउनुपर्ने भनेर व्यवसायीलाई पनि कानूनले बाँध्ने काम गरेको उल्लेख गरे । मन्त्री महासेठले सबै नयाँ रुट परमिट प्रतिष्पर्धाबाट दिइरहेको र आगामी दिनमा पनि प्रतिष्पर्धाबाट नै दिने बताए ।

सिण्डिकेटसँग सम्बन्धित जतिपनि संघसस्थाहरू छन् तिनीहरूको खाता आफूहरूले बैशाख २१ गतेबाट नै रोकिसकेको पनि उनले जनाए । मन्त्री महासेठले सिण्डिकेटको अन्त्य भैसकेको भन्ने कुराको अनुभूति जनताले अब छिट्टै पाउने पनि दाबी गरे ।

आफूले घोषणा गरेका नयाँ राष्ट्रिय गौरवका योजनाहरूमा सप्तरीको कञ्चनपुरदेखि लौकीसम्म २२ किलोमिटरसम्म सिधा बाटो बनाउने घोषणा गरेको जनाउँदै यही आर्थिक वर्षभित्र यसलाई सम्पन्न गर्ने पनि मन्त्री महासेठले बताए । फरक प्रसँगमा उनले अनशनरत डाक्टर गोविन्द केसीको माँगलाई राजनीतिक विषय बनाउन नहुने धारणा पनि राखे ।

अहिलेसम्म डाक्टर केसी १५ औं पटकसम्म अनशन बसेको र उनका मागहरू सरकारले पूरा गरेको पनि उनले बताए । उनले प्रत्येक वर्ष ७ सयदेखि ९ सयसम्म नेपाल विद्यार्थीहरू मेडिकल शिक्षा हासिल गर्न विदेश गैरहेको र यसले नेपालको वार्षिक अर्बौं रूपैयाँ घाटा भैरहेको तर्क गरे ।

shares