Breaking News

समृद्धिका लागि मिलेर अघि बढ्नुपर्छ: पूर्वराष्ट्रपति

काठमाण्डौ, ६ साउन । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले मुलुकको समृद्धिका लागि सबैलाई साथमा लिई अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

वीपी विचार राष्ट्रिय समाजले आइतबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय जीवनमा विश्वेश्वर प्रसाद कोइराला भाग दुई विमोचन कार्यक्रममा यादवले सबै जातजातिको हक अधिकार स्थापित गर्दै मुलुकको समृद्धि र विकासमा लाग्नुपर्ने बताएका हुन् ।

पूर्वराष्ट्रपति यादवले अहिलेपनि मधेशलगायत केही भूभागका जनताहरू अधिकार प्राप्तिका लागि आवाज उठाइरहेको भन्दै सरकारले छाती चौडा पार्दै सबैको भावनालाई समेटेर अघि बढ्नुपर्ने जिकिर गरे । त्यस्तै उनले मुलुकमा लामो सघर्षपछि सविधान जारी भएको भन्दै संविधानलाई सबै जनताको अपनत्व हुने वातावरण बनाउन जरुरी रहेको जिकिर गरे ।

नेपाली राजनीतिमा वीपी कोईरालाले गर्नुभएको योगदानको चर्चा गर्दै पूर्वराष्ट्रपति यादवले गुटबन्दीलाई अन्त्य गर्दै सिन्द्धान्त अनुसार जनतामाझ जान कांग्रेसलार्इ सुझाव पनि दिए । मुलुकमा कम्युनिष्ट सरकार रहेको भन्दै उनले कांग्रेसले एकतबद्ध भई अघि बढे त्यसलाई सही बाटोमा ल्याउन सकिने जिकिर गरे ।

कार्यक्रममा सहभागीहरूले नेपालको राजनीति र परिवर्तनमा विश्वेश्वर प्रसाद कोइरालाले खेल्नुभएको भूमिको चर्चा गरेका थिए ।

shares