Breaking News

तरुण दल धर्ना: सरकारलाई बुझायो ताल्चासहितको साङ्लो

काठमाण्डौ, ६ साउन । जनताको स्वतन्त्रतामाथि सरकारले हस्पक्षेप गरेको भन्दै नेपाल तरुण दलले ताल्चासहितको साङ्लो काठमाडौं प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाएको छ ।

शान्तिपूर्ण जुलुसमा प्रहरीले दमन गरेको, विभिन्न स्थानमा जनताले प्रर्दशन गर्न पाउने अधिकार कुण्ठित भएको भन्दै आइतबार तरुण दलले ताल्चासहितको साङ्लो सरकारलाई बुझाएको हो । त्यसअघि काठमाडौंको माईतिघरबाट जुलुससहित अघि बढेका तरुण दलका नेता तथा कार्यकर्तालाई प्रहरीले बबरमहलस्थित काठमाडौ जिल्ला अदालत अगाडिको सडकमा रोकेको थियो ।

प्रहरीले रोकेपनि कार्यकर्ताले जिल्ला अदालत अगाडिको सडकमा धर्ना दिएका थिए । उनीहरूले आमरण अनशनरत डाक्टर गोविन्द केसीका माग पूरा गर्न दबाब दिँदै सरकार विरोधी नारा लगाएका थिए ।

नेपाल तरुण दल काठमाडौंका अध्यक्ष कृष्णजी खड्काले जनताको मौलिक हकमा सरकारले ताल्चा लगाउन खोजेको भन्दै प्रशासन कार्यालयमार्फत सरकारलाई ताल्चासहितको साङ्लो बुझाएको बताए । उनले यसअघिको सरकारले ल्याएको चिकित्सा विधेयकलाई वर्तमान सरकारले उल्टाउने प्रयास गरेको आरोप पनि लगाए ।

सरकारको क्रियाकलापविरुद्ध आन्दोलन घोषणा गरेको तरुण दलले शनिबार पनि नयाँ बानेश्वर क्षेत्रमा धर्ना दिएको थियो । शनिबार भएको प्रहरी दमन तथा सरकारले निषेधित क्षेत्र घोषणा गरेको विरोधमा आइतबार धर्नासहित प्रर्दशन गरिएको तरूण दलका नेताहरूले बताएका छन् ।

shares