Breaking News

डा.केसीको माग पूरा गराउन कांग्रेस एकताबद्ध हुनुपर्ने

काठमाण्डौ, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीको माग जायज भएको उल्लेख गर्दै माग पूरा गराउन कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन् ।

३६ औं वीपी स्मृति दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले केसीको माग पूरा नभएसम्म कांग्रेसले आन्दोलन जारी राख्ने र यही नै वीपीप्रतिको सम्मान हुने बताएका हुन् । वीपीले भन्नुभएको कम्युनिस्ट कहिल्यै प्रजातन्त्रवादी नहुने र कम्युनिस्टसँग कहिल्यै मिल्नु हुँदैन भन्ने विचार सत्य साबित भएको उनको भनाइ छ ।

आफ्नो सरकारको पालामा कम्युनिष्टहरूलाई नै राखेर माथेमा आयोगले ल्याएको कुरा सबैसँग सहमति गरेर ल्याएको चिकित्सा शिक्षा अध्यादेश उल्ट्याउन खोजेको भन्दै देउवाले आपत्तिसमेत जनाए । वर्तमान सरकारले विश्वमै नभएको नियम ल्याएर तथाकथित निषेधित क्षेत्र घोषणा गरेको उल्लेख गर्दै देउवाले तानाशाही शासन ल्याउन खोजेको आरोप लगाए ।

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्तरीय स्वास्थ्य शिक्षामा माफियालाई पोसेर सरकार शोषक वर्गको स्थापना गर्नतिर लागेको आरोप लगाए । यस्तो किसिमको कम्युनिजम समाजवादी हुन नसक्ने उल्लेख गर्दै पौडेलले कांग्रेसले सरकारलाई अधिनायकवादी बाटोमा जान नदिन चेतावनी दिँदै आएको बताए ।

त्यस्तै महामन्त्री शशांक कोइरालाले देशको विकासका लागि कांग्रेस एक हुनैपर्ने धारणा राख्दै वीपीले कार्याकर्ता र देशप्रति गरेको योगदानको चर्चा गरे । कार्यक्रममा कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू गोपालमान श्रेष्ठ, डाक्टर रामशरण महत र कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले वीपीको योगदानबारे चर्चा गरेका थिए ।

shares