Breaking News

कलंकी–नागढुंगा सडक निर्माण ढिलाइ भएकोमा सांकेतिक विरोध

काठमाण्डौ, ६ साउन । समय गुज्रिँदा पनि सम्पन्न नभएको कलंकी–नागढुंगा सडक निर्माणमा उदासीनता देखाएको भन्दै स्थानीयले सडक आफैं बनाउने भन्दै सांकेतिक विरोध गरेका छन् ।

कलंकी–नागढुंगा बाटो निर्माण दबाब समूह चन्द्रागिरीका स्थानीयले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध गरेका हुन् । अस्तव्यस्त सडककै कारण जाम, दुर्घटनालगायत समस्या झेल्नुपरेको स्थानीयको गुनासो छ ।

स्थानीयको प्रदर्शनका कारण केहीबेर राजधानी भित्रिने र बाहिरिने सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको थियो । दबाब समूहका अध्यक्ष ईश्वर लामाले सडक निर्माणका लागि सरकारलाई आग्रह गर्दा गर्दै बाटो बनाउने सरकारले नै आलटाल गरिरहेका कारण यस्तो विरोध गरेको बताए ।

लामाले शैलुङ कन्ष्ट्रक्सनको लापरवाहीले सडक निर्माण प्रभावित भएकाले कारबाही गर्न मागसमेत गरे । त्यस्तै संघर्ष समितिका सदस्य रोसन दानीले आफ्नो सडक आफैं बनाउने भन्दै सांकेतिक विरोध गरिएको बताए ।

समूहका सचिव मोहन डाँगीले कलंकी नागढुंगा सडक सरकारले नबनाए जनताले बनाउने व्यंग्य गर्दै तत्काल सरकारको ध्यानाकर्षण हुनु पर्ने बताए ।

shares