Breaking News

काठमाण्डौमा सुरु भयो सामूहिक नागरिक सत्याग्रह

काठमाण्डौ, ६ साउन । राजधानीको वसन्तपुर डबलीमा सामूहिक नागरिक सत्याग्रह सुरु भएको छ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा शंख बजाएर सामूहिक रूपमा सत्याग्रह सुरु गरिएको हो ।

सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजेदेखि सुरु सत्याग्रह साँझ ५ बजेसम्म जारी रहने छ । अनसनमा सामाजिक अगुवा, राजनीतिक दलका नेता, चिकित्सक, नर्स, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कानुन व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै अनशनरत डा. केसीको माग सम्बोधनका लागि प्रबुद्ध नागरिक समाजले दबाब बढाउँदै लगेका छन् । केसीको जीवन रक्षा तथा मागको सम्बोधनका लागि दबाब दिन शनिबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरिएको थियो ।

गत असार १६ गते जुम्लामा अनसन बसेका केसीलाई सरकारले गत बिहीबार काठमाडौं ल्याएको थियो । आमरण अनशनरतका कारण डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था भने शिथिल भएको छ ।

shares