Breaking News

मजदूर संगठनहरूले गरे आन्दोलनको घोषणा

काठमाण्डौ, ४ साउन । सरकारले हालै सार्वजनिक गरेको मजदुरहरूको न्यूनतम पारिश्रमिकले आम मजदूरहरूलाई अपमान गरेको भन्दै विभिन्न मजदूर संगठनहरूले आन्दोलनको घोषणा गरेका छन् ।

बढ्दो महंगीलाई ख्याल गरी मजदूर संगठनहरूले मासिक २५ हजार रुपैयाँ पारिश्रमिक तोक्न माग समेत गरेका छन् । शुक्रबार काठमाडौंमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल र नेकपा (माले) निकट प्रगतिशील स्वतन्त्र ट्रेड युनियन महासंघले संयुक्त पत्रकार सम्मेलन गरेर नयाँ आन्दोलनको घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष राजन तिमल्सिनाले विगतजस्तै यो सरकारले पनि मजदुर मारा नीति ल्याएको भन्दै आकोश पोखे । उनले आफ्ना मागहरू र खबरदारीहरूको बेवास्ता गरे कडाभन्दा कडा आन्दोन गर्ने चेतावनी समेत दिए । ‘नो वर्क नो पे’ तथा ‘हायर एण्ड फायर’ विरोधी संगठनहरूसँग सहकार्य गर्न आफूहरू तयार रहेको जानकारी समेत तिमिल्सिनाले दिए ।

मजदूर संगठनहरूले आफ्ना माग पूरा गराउन ३५ बुँदे मागसहित चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेका छन् । जसअनुसार यही साउन १२ गते श्रममन्त्री तथा ७७ ओटै जिल्ला प्रसासन कार्यलय समक्ष ज्ञापनपत्र बुझाउने, १५ गतेदेखि ३१ गतेसम्म देशैभर विरोध सभा तथा भदौ १ गतेबाट दोश्रो चरणको आन्दोलन गर्ने बताएका छन् ।

shares