Breaking News

नक्कली सुन देखाई ठगी गर्ने तीन जना पक्राउ

काठमाण्डौ, ४ साउन । काठमाडौं उपत्यकामा केही समयदेखि नक्कली सुन देखाई ठगी गर्ने गिरोह सक्रिय भएको खुल्न आएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुन देखाई ठगी गर्ने तीन जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका २३ वर्षीय राज लामा तामाङ, नुवाकोटका २६ वर्षीय म्लाङसिङ लामा र सोलुखुम्बुका टासी लाक्पा शेर्पा रहेका छन् । उनीहरूले विभिन्न व्यक्तिलाई बजार भाउभन्दा निकै नै सस्तोमा सुन दिने भन्दै बिक्री गरी ठगी गरेर हिंड्ने गरेको महाशाखाका एसएसपी विश्वराज पोखरेलले बताए ।

उनीहरूले एक किलो सुन २० लाख देखि ३० लाखसम्म बेच्ने गरेको खुलेको छ । बजारमा एक किलो सुनको मूल्य ४५ लाख रुपैयाँभन्दा बढी पर्छ । प्रहरी नियन्त्रणमा रहेका लामा पहिले पनि कैद सजाय भुक्तान गरेर निस्किएका हुन्। उनीहरुले काठमाडौं अन्यलाई समेत ठगी गरेको हुनसक्ने पोखरेलले बताउनुभयो ।

यसअघि गत वैशाख २८ गते अपराध महाशाखाबाट खटिएको टोलीले रामेछापका २५ वर्षीय दीपेन्द्र बराइली र सिन्धुपाल्चोकका २७ वर्षीय रमेश बैजुलाई नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा पक्राउ गरेको थियो । उनीहरूले सात किलो सुन ८० लाख रुपैयाँ दिने भन्दै एक व्यक्तिलाई ठगी गर्ने योजना बनाएका थिए ।

shares