Breaking News

डा.केसीले तत्काल अनशन स्थगित् गर्नुपर्छ: परराष्ट्रमन्त्री

काठमाण्डौ, ४ साउन । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अनशनरत डाक्टर गोविन्द केसीको अनशन र आन्दोलनलाई केही दल र तत्वहरूले राजनीतिक हतियार बनाएकोले तत्काल केसीले अनशन स्थगित् गर्नुपर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा मन्त्री ज्ञवालीले डाक्टर गोविन्द केसीको अनशनलाई राजनीतिकरण गर्न खोजिएको बताएका हुन् । सरकारले हिजो जुम्लामा दमन र हस्तक्षेप गर्यो भनेर आरोपहरू लगाइएको गुनासो पोख्दै उनले डाक्टर केसीको विशुद्ध पेशागत कुरामा यस्ता खालका दागहरू लाग्न दिन नहुने जिकिर गरे ।

मन्त्री ज्ञवालीले चिकित्सा शिक्षामा विकृति रहेको स्वीकार्दै अहिले यसबारेको बहसलाई मोड्न खोजिएको तर्क गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनको भ्रमण सम्पन्न गरेको उल्लेख गर्दै अब छिट्टै अन्य मुलुकको पनि भ्रमण गर्ने तयारी गरिरहेको उनले बताए ।

मन्त्री ज्ञवालीले समग्रमा नेपालको आर्थिक समृद्धि र विकासका लागि एउटा अनुकूल वातावरण बनाउने आफूहरूको विदेश नीतिको मुख्य केन्द्र विन्दु हुने जिकिर गरे । कृषिमा साझेदारी, रेलवेमा एमओयु हुने बताउँदै भारतसँग भएका विभिन्न सहमति तथा सम्झौताहरू आगामी सेप्टेम्बरसम्म कार्यान्वयन हुने उनले बताए ।

त्यस्तै उनले मित्रराष्ट्र चीनसँग हिमालय वारपार बहुआयामिक यातायात सञ्जाल साझेदारीको कुराहरू अघि बढाएको जानकारी दिए । यही अगष्ट ३० र ३१ मा बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा आयोजना हुन लागेको जनाउँदै मन्त्री ज्ञवालीले विमस्टेकमार्फत कनेक्टिभिटीलाई उच्च प्राथमिकता दिने बताए ।

वर्तमान सरकारको एकमात्रै उद्देश्य आर्थिक समृद्धि भएकोले आगामी सन् २०२२ सम्म नेपालाई विकासशील राष्ट्र बनाउने र सन् २०३० सम्म मध्य आय भएको मुलुकको रूपमा चिनाउने भएको भन्दै यसमा सफलता प्राप्त हुने उनले बताए ।

shares