Breaking News

सुरु भयो यातायात समितिहरूको सम्पति सरकारीकरण प्रक्रिया

काठमाण्डौ, ४ साउन । सरकारले विभिन्न यातायात समितिहरूको सम्पति सरकारीकरण प्रक्रिया सुरु गरेको छ ।

समितिहरूले उपचार खर्च लगायतका विषयमा तिर्न बाँकी रकम तिर्ने र बाँकी सम्पति सरकारीकरण गर्न प्रकृया अघि बढाएको हो । गत असार ३१ गते गृह मन्त्रालयमा बसेको बैठकले समितिहरूको सम्पति राष्ट्रियकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, यातायात मन्त्री रघुबीर महासेठ तथा दुवै मन्त्रालयका उच्च अधिकारीहरू सम्मिलित बैठकले यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्था र समितिका चल–अचल सम्पति नेपाल सरकारको मातहत रहने गरी गृह मन्त्रालयसँगको समन्वयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने निर्णय भएको हो ।

सरकारले आगामी पुस महिनाभित्रै कम्पनीमा जान समितिहरूलाई म्याद थप गरेको छ । पुसपछि सबै समितिहरू खारेज गरेर उनीहरूको नाममा रहेको सम्पति सरकारीकरण गरिनेछ ।

सवारी दुर्घटनामा घाइतेको उपचार, कर्मचारीको तलब लगायत अन्य दायित्व पूरा गर्न बाँकी रहेको भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयले समितिको खातामा रहेको रकमबाट भुक्तानीको व्यवस्था मिलाउने बताइएको छ ।

shares