Breaking News

काठमाडौं जिल्ला अदालतले यस वर्ष ९४ प्रतिशत मुद्दा फर्छ्यौट

काठमाण्डौ, ३ साउन । काठमाडौं जिल्ला अदालतले आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य अनुसार ९४ दशमलव ४६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।

काठमाडौं जिल्ला अदालतले बिहीबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७४/७५ मा १४ हजार १२ मुद्धा दर्ता भएकोमा १२ हजार तीन सय ८३ मुद्दा फर्छ्यौट गरेको जनाएको हो ।

काठमाडौं जिल्ला अदालतले आर्थिक वर्ष २०७४/७५ मा १३ हजार एक सय ९ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो । समग्रमा काठमाडौं जिल्ला अदालतमा २१ हजार तीन सय ९० लगत रहेकोमा ५८ प्रतिशत मात्र मुद्दा फर्छ्यौट भएको छ ।

पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेश राज पोखरेलले न्याय सम्पादनको कार्यलाई छिटो छरितो बनाउने , न्यायीक प्रकृयालाई अनुमान योग्य बनाउने, न्यायपालिकाप्रति आस्था र विश्वास अभिवृद्धि गर्ने रणनीतिक योजना लिइएको जानकारी दिए । त्यस्तै न्याय सेवालाई चूस्तदुरुस्त राख्न व्यवस्थापकीय कार्यमा पनि तीव्रता दिएको उनले बताए ।

काठमाडौं जिल्ला अदालतले ९ सय २ मुद्दा मेलमिलापमा पठाइएको जनाएको छ भने विविध कारणले लक्ष्य अनुरूप कार्य प्रगति हुन नसकेको जनाएको छ । आगामी आर्थिक वर्षमा लक्ष्यभन्दा बढी प्रगति गर्ने दिशातर्फ अग्रसर भइरहेको पनि अदालतले जनाएको छ ।

shares