Breaking News

जुम्लामा प्रहरीको गोली लागी प्रहरी नै घाइते

जुम्ला, ३ साउन । अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्ला अस्पतालमा भएको झडपका क्रममा प्रहरीको गोली लागी प्रहरी जवान कमल आचार्य गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान डा. केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पुगेपछि अस्पतालमा स्थानीय र विद्यार्थीले अवरोध गर्दा प्रहरीले लाठीचार्ज, अश्रुग्याँस प्रहार गर्नुका साथै गोलीसमेत चलाएको स्रोतले जनाएको छ ।

प्रशासनले भने गोली चलेको घटनालाई गुपचुप बनाउने प्रयास गरेको छ । प्रहरीलाई गोली लागेको नभई कसैले सिसाले हानेको दाबी गरिएको छ । तर सिभिल पोशाकमा रहेका प्रहरी जवान कमल अचार्यलार्इ गोली लागेको स्रोतले बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जुम्लामा गोली नै नचलेको र प्रहरीमाथि सिसाले प्रहार भएको दाबी गरे । तर अस्पतालका कर्मचारीले भने अस्पतालमा ४ राउन्ड गोली प्रहार भएको बताएका छन् ।

अस्पतालमा अाफ्ना समर्थकहरूमाथि बल प्रयोग भएपछि डा. केसी सेनाको हेलिकोप्टर चढेर काठमाडौं आएका छन् ।

shares