Breaking News

जुम्लामा भएको दमनको भर्त्सना

काठमाण्डौ, ३ साउन । नेपाली कांग्रेसले जुम्लामा भएको घटनाको घोर भर्त्सना गर्दै सरकारले असभ्यताको नाङ्गो नाच देखाएको आरोप लगाएको छ ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरी लगाई चिकित्सकमाथि बर्बर दमन गरेको भन्दै घटनाको घोर भर्त्सना गर्दै सरकारले असभ्यताको नाङ्गो नाच देखाएको बताए ।

उनले छिटोभन्दा छिटो डाक्टर गोविन्द केसीको माग सम्बोधनका लागि सहमतिबाट आफ्नो सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक हुबहु पास गर्नुपर्ने धारणा राखे । उनले साधारण विषयमा कसैको ज्यान जान नहुने भन्दै तत्काल डाक्टर केसीको माग पूरा गरी उनको ज्यान जोगाउनुपर्नेमा जोड दिए । त्यस्तै सभापति देउवाले प्रतिपक्षीसंग छलफल नै नगरी एकसाता लामो समय प्रतिनिधिसभाको बैठक स्थगन गरको भन्दै विरोध जनाए ।

त्यसअघि बिहीबार नै संसद भवन नयाँ बानेश्वरमा कांग्रेसले प्रतिपक्षीदलहरूसंग छलफल गर्दै संसदमा रहेका लोकतान्त्रिक शक्तिहरूलाई मिलाएर ‘लोकतान्त्रिक गठबन्धन’ बनाउन प्रस्ताव गरेको थियो । छलफलमा सभापति देउवाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलगायतका विषयहरूमा समान धारणा बनाउन पनि आग्रह गरेका थिए ।

shares