Breaking News

कम्पनीको क्षमताका आधारमा पूर्वाधार निर्माणको जिम्मा दिने तयारी

काठमाण्डौ, ३ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण कम्पनीको क्षमताका आधारमा पूर्वाधार निर्माणको जिम्मा दिने तयारी भइरहेको बताएका छन् ।

५६ औं ईन्जिनियर दिवसका अवसरमा नेपाल ईन्जीनियर्स एशोसियसनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री महासेठले एकैपटक दजर्नौ आयोजनामा टेन्डर पार्ने र काम समयमा सम्पन्न नहुने देखिएको भन्दै अब एक पटकमा एक आयोजनाका लागि मात्र निर्माणको जिम्मा दिइने बताए ।

मन्त्री महासेठले निर्माण कम्पनीले वार्षिक रूपमा गर्न सक्ने काममा आधारित भएर टेन्डर दिने नीति बन्न लागेको स्पष्ट पारे। त्यस्तै मन्त्री महासेठले निर्माण भई हस्तान्तरण भएका पूर्वाधारको मर्मत तीन वर्षसम्म कम्पनीकै खर्चमा निर्माण कम्पनीले नै गर्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको पनि बताए ।

निर्माण सम्पन्न भई हस्तान्तरण भएको केही समयमा नै पूर्वाधारहरूमा समस्या देखिने गरेको भन्दै यस्तो व्यवस्था गर्न लागेको उनको भनाइ छ । उनले अब बन्ने आयोजना र पूर्वाधारहरू नेपाली प्रविधिका आधारमा बन्ने भन्दै यसको जिम्मा नेपालका ईन्जीनियरलाई नै दिइने स्पष्ट पारे ।

ईन्जिनियर दिवसका अवसरमा एशोसियसनले वरिष्ठ ईन्जीनियरहरूलाई सम्मान गरेको थियो ।

shares