Breaking News

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाण्डौ, ३ साउन । अनसनरत डाक्टर गोविन्द केसीको मागप्रति ऐक्यबद्धता चिकित्सकहरूले बिहीबार देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

सरकारले डाक्टर केसीको माग पूरा नगरेको र उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारिएको हो ।

डा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै संघले सरकारलाई माग पूरा गर्न ४८ घण्टाको समय दिएको थियो । तर, सरकारले माग पूरा नगरेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको संघले जनाएको छ ।

संघको आन्दोलनका कारण देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूण स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएका छन् ।

चिकित्सकले सेवा अबरुद्ध पारेको भन्दै बिरामीका आफन्तहरूले काठमाडौको वीर अस्पतालमा केहीबेर नाराबाजी गरेका छन् । उनीहरूले बिरामीको स्वास्थ्य सेवा कुन्ठित गरेको भन्दै आक्रोश पोखेका छन् ।

यता काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा सेवा सुचारु गर्नुपर्छ भन्ने पक्ष र बन्द गर्नुपर्छ भन्ने पक्षबीच विवाद भएको छ । राष्टिय चिकित्सक संघ, मधेशी चिकित्सक संघ लगायतका सरकार निकटका पेशागत संगठनले बन्दको अवज्ञा गर्ने बताएपछि विवाद भएको हो ।

shares