Breaking News

चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता नहुने

काठमाण्डौ, ३ साउन । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदबाट फिर्ता नहुने स्पष्ट पारेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारले कुनै पनि हालतमा विधेयक फिर्ता नलिने स्पष्ट पारेका हुन् । उनले अनसनरत डाक्टर गोविन्द केसी काठमाडौं आउनुभयो भने छलफल हुने र त्यसो हुन नसके प्रक्रियाबाट ससंदमा विधेयक अघि बढ्ने धारणा राखे ।

मन्त्री पोखरेलले विधेयक संसदमा पेश हुने र संसदीय प्रक्रियामै अगाडि बढ्ने बताए । उनले सरकारले हाल संसदमा पेस गर्न लागेको चिकित्सा शिक्षा विधेयकमा माथेमा कार्यदलका मुलभूत कुरा समेटिएको दाबी गरे । माथेमा प्रतिवेदनमा रहेका मुख्य विषयहरू नहटाइएको भन्दै उनले अध्यादेशमा नपुग कुरा विधेयक संसदमा गइसकेकाले सांसदले थप्ने तथा संशोधन गर्ने बताए ।

मन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकतामा डा.केसीको जीवन रक्षा गर्नु रहेकाले उनलाई काठमाडौंमै ल्याएर उपचार गर्ने सरकारको प्रयास भएको बताए । डाक्टर केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको भन्ने सुनिएको भन्दै उनले जुम्लामा आईसियुसमेत नभएकाले डाक्टर केसीलाई काठमाडौं ल्याउन मन्त्रालयको टोली हेलिकोप्टरसहित जुम्ला पठाएको जानकारी दिए ।

सकभर काठमाडौंमै ल्याएर उपचार गर्ने त्यो सम्भव नभए कर्णालीकै सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्ने सरकारको तयारी रहेको मन्त्री पोखरेलले बताए । डा. केसीलाई लिन शिक्षा मन्त्रालयका सहसचिव गुणराज लोहनी नेतृत्वको टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीसमेत जुम्ला गएका थिए । तर अनसनरत डाक्टर केसीले काठमाडौं आउन अस्वीकार गरेका छन् ।

shares