Breaking News

भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा

काठमाण्डौ, २ साउन । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीको जीवन रक्षाका लागि सरकारको तर्फबाट ठोस पहल नभएको भन्दै आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले ४८ घण्टे अल्टिमेटम सकिंदासमेत डाक्टर केसीको जीवन रक्षाका लागि सरकारको तर्फबाट ठोस पहल नभएपछि स्वास्थ्य संस्था ठप्प पार्न बाध्य भएको बताए ।

भोलिको एक दिन बन्द चिकित्सक र स्वास्थ्यकर्मीको आवाज सरकारसमक्ष पुर्याउन गरिएको भन्दै सरकारले नसुने त्यसपछि अनिश्चितकालिन बन्दमा उत्रिने चेतावनी दिए ।

संघले बन्दका बेला अस्पतालहरुमा हुनसक्ने कुनै पनि घटनाका सम्वन्धमा स्वास्थ्यकर्मीले कुनै पनि जिम्मेवारी नलिने भन्दै सरकार नै पूर्ण जिम्मेवार हुने समेत जनाएको छ । उनले चिकित्सक संघ यसअघिका सबैजसो सरकारका पालामा यस्ता प्रकारका आन्दोलन र विरोधमा उत्रिएको बताए ।

अघिल्ला आन्दोलनका बेला कतिपय चिकित्सकहरूले सरकारीमा ओपिडी बन्द गरी दिनभर निजी अस्पताल तथा क्लिनिकमा गएर बिरामी जाँच्ने गरेको पाइएको थियो । संघले यसपटक त्यसो गर्न नदिने बताएको छ ।

shares