Breaking News

सरकारले बहुमतको दुरुपयोग गरेको राजपाको ठहर

काठमाण्डौ, २ साउन । राष्ट्रिय जनता पार्टी नेपालले जनताले दिएको बहुमतको सरकारले दुरुपयोग गरेको ठहर गरेको छ ।

बुधबार काठमाडौंको बबरमहलमा बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकले सरकारले जनताले दिएको बहुमतको दुरुपयोग गर्दै जनताको स्वतन्त्रता कुण्ठित पार्ने काम गरेको ठहर गरेको हो ।

जनताले दिएको मतलाई कदर गर्न नसकेको, मधेशमा बाढी, पहाडमा भूकम्पको पिडामा रहेको जनतालाई राहत दिन नसकेको, महङ्गी आकासिएको र विभिन्न स्थानमा प्रर्दशन गर्न रोक लगाएर नागरिक स्वतन्त्रता कुण्ठित पार्ने काम सरकारले गरेको राजपाको आरोप छ ।

त्यस्तै राजपाले जुन विश्वासको आधारमा सरकारलाई समर्थन गरेको हो, त्यसको विश्वासको आधार भत्किंदै गएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

बिहीबार प्रधानमन्त्रीसंग भेट्दै संविधान संशोधनको विषयमा सरकारको आधिकारीक धारणा र राजपाका नेताहरूलाई लगाइएको मुद्धा फिर्ता लिने विषयमा धारणा माग गर्ने निर्णय भएको यादवले बताए । उनले प्रधानमन्त्रीबाट चित्तबुझ्दो जवाफ नआए जस्तो सुकै निर्णय लिन पनि राजपा बाध्य हुने धारणा राखे ।

त्यस्तै बैठकले अनसनरत डाक्टर गोविन्द केसीको जीउधनको सुरक्षालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै छिटोभन्दा छिटो अनसन तोडाउनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

shares