Breaking News

धर्मनिरपेक्षता खारेजी नभए राप्रपाले जनसंघर्ष गर्ने

काठमाण्डौ, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा धर्मनिरपेक्षता खारेजी नभए कडा रूपमा जनसंघर्ष गर्ने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि राष्ट्रिय जनजागरण अभियानको औपचारिक शुभारम्भ गर्दै अध्यक्ष थापाले छिटोभन्दा छिटो धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको घोषणा गर्न माग गर्दै माग पूरा नभए जनसंघर्ष गर्ने चेतावनी दिएका हुन् ।

अध्यक्ष थापाले सहमतिका आधारमा हिन्दु राष्ट्र घोषणा होस् भन्ने पार्टीको चाहना रहेको स्पष्ट पारे । उनले राप्रपाले जनसंघर्ष गरे मुलुकको आर्थिक सामाजिक राजनीतिक क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तनको ढोका खोल्ने दाबी गरे ।

त्यस्तै उनले जनजागरण अभियान सरकारका विरुद्ध, कुनै धामिर्क संघसंस्थाको विरुद्ध नभई करिब ९४ प्रतिशत ओमकार परिवार र सनातन धार्मिक मूल्यामान्यतामा आस्था राख्ने नेपालीहरूको पहिचानको रक्षाको अभियान भएको धारणा राखे ।

नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने लक्ष्यका साथ अभियान सुरु गरिएको भन्दै उनले नेपालको सामाजिक आर्थिक राजनीतिक रुपान्तरणको आधार नेपालको सनातन मूल्य र मान्यता भएको जिकिर गरे ।

राप्रपाको गत जेठमा सम्पन्न केन्द्रीय परिषदको निर्णय अनुसार पार्टीले राष्ट्रव्यापी जनजागरण अभियानको थालनी गरेको जनाएको छ । धर्म निरपेक्षताको अन्त र सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र पुनस्र्थापनाका लागी राप्रपाले आवाज उठाउँदै आएको छ ।

जनजागरण अभियानमा बालसन्त जगदगुरु मोहनशरण आचार्यसहित धार्मिक गुरुहरू, अभियन्ताहरू र विभिन्न धार्मिक संघसंस्थाहरूको सहभागिता रहेको थियो ।

shares