Breaking News

कर खारेजीको माग गर्दै धर्ना

काठमाण्डौ, २ साउन । सरकारले इन्टरनेटमा लगाएको १३ प्रतिशत कर खारेजीको माग गर्दै नेपाल विद्यार्थी संघले नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयमा धर्ना दिएको छ ।

बुधबार काठमाडौंको कमलादीस्थित प्राधिकरणको कार्यालयमा धर्ना दिंदै उनीहरूले तत्काल इन्टरनेट शुल्कमा बढाइएको कर खारेजी गर्न समेत माग गरेका छन् । थप कर र सेवा शुल्क गरेर इन्टरनेटमा करिब ३२ प्रतिशत कर लगाएको भन्दै नेवि संघले विरोध जनाएको छ ।

ईन्टरनेटको कर वृद्धिले विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने भएकोले आफूहरू विरोधमा उत्रिएको नेविसंघका सभापति नैनसिंह महरले बताए । उनले सरकारले इन्टरनेटमा कर बढाएर जनतालाई सूचनाको सजिलो पहुँचबाट बञ्चित गराउन खोजेको आरोपसमेत लगाए । भोट माग्ने बेलामा वाईफाई फ्रि भन्ने अहिलेचाहिँ १३ प्रतिशत कर लगाएर जनतालाई सूचनाको पहुँचबाट टाढा गराउने खेल रचिएको उनको भनाइ छ ।

उनले कम्यनिष्ट नेतृत्वको सरकार सर्वसत्तावाद उन्मुख देखिएको भन्दै अहिले शान्तिपूर्ण संघर्ष गर्ने र माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए । नेविसंघले कर खारेजीको माग गर्दै प्रधानमन्त्री र सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।

shares