Breaking News

क्रिकेट टोलीको बिदार्इ

काठमाण्डौ, २ साउन । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला र नेदरल्यान्ड्सविरुद्धको पहिलो एक दिवसीय क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदार्इ गरिएको छ ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलाडीहरूलाई शुभकामनासहित बिदार्इ गरेका हुन् । पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार लन्डन प्रस्थान गर्दैछ ।

क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा नेपालले यही साउन १३ गते स्थानीय मेरेलीबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृंखला खेल्नेछ । त्यसपछि नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा पहिलोपटक दुईओटा एक दिवसीय अन्तराष्ट्रिय खेल खेल्नेछ । साउन १६ र १७ गते हुने उक्त खेल नेपालका लागि ऐतिहासिक हुनेछ ।

कार्यक्रममा मन्त्री विश्वकर्माले खेलको पूर्वाधार र प्रशिक्षणका साथै खेल क्षेत्रको विकासका लागि उपयुक्त वातावरण बनाइने बताए । त्यस्तै नेपाली टिमका कप्तान पारस खड्काले २ वर्षपछि लर्ड्समा खेल्ने अवसर पाउनु र नेदरल्याण्ड्ससँग पहिलो पटक ओडिआई सिरिज खेल्न जाँदै गर्दा एकदमै उत्साहित भएको र यो सबै मेहनतको फल रहेको प्रतिक्रिया दिए ।

यस्तै प्रमुख प्रशिक्षक जगत टमाटाले पहिलो ओडिआई खेल्न जाँदै गर्दा सबैको साथ र माया रहेको र उत्साहित भएको बताए । विकेटकिपर सुवास खकुरेलले ३ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दा नेपालको ओपनिङ र विकेटकिपङ समेत राम्रो हुने कप्तान र प्रशिक्षकले आशा राखे । गत मार्चमा जिम्बावेमा खेलेको टोलीमा एक खेलाडीमात्र परिवर्तन भएको छ । युवा विकेटकिपर दीलिप नाथको स्थानमा सुवास आएका छन् ।

shares